लुम्बिनी सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

लुम्बिनी सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता



दाङ । लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेबाट मन्त्री बनेका पाँच जनाले आजै राजीनामासमेत दिएका छन् ।

केन्द्रमा फेरिएको सत्ता समीकरणले लुम्बिनी प्रदेशमा पनि सरकार फेरबदलको स्थिति देखापरेको हो । केन्द्रमा एमाले मन्त्रीहरुले राजीनामा बुझाएपछि लुम्बिनी प्रदेशमा पनि एमालेले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै पाँच मन्त्रीले समूहिक राजीनामा बुझाएका हुन् ।

आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसीले राजीनामा दिएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा एमाले र अन्य केही साना दलको समर्थनमा गत चैत २३ गते ४८ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।