गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन

गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरूलाई अलर्ट रहन निर्देशन दिएका छन् । मनसुनका समयमा हुन सक्ने विपद्जन्य घटना व्यवस्थापनमा चुस्त रहन निर्देशन दिँदै अर्यालले आ-आफ्नो जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर पूर्व तयारी अवस्थामा रहन सजग गराएका हुन् ।

हिजो बिहीबार गृह मन्त्रालयमा आयोजित भर्चुअल माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायका पदाधिकारीहरूसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।

देशका विभिन्न स्थानमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकार, निजी क्षेत्र, रेडक्रस जस्ता सामाजिक संस्थाहरूसमेत परिचालनका निम्ति समन्वय गर्न निर्देशन दिएका गृह सचिव अर्यालले सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरणहरू मुख्य राजमार्गमा तैनाथ गरी जनशक्तिहरूसमेत सोही अनुसार चुस्त दुरुस्त अवस्थामा राख्न भनेका छन् ।

गृह सचिव अर्यालले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका एकदमै महत्त्वपूर्ण रहने भएकोले प्रजिअहरुले उनीहरूसँगको समन्वयमा विशेष जोड दिन भनेका छन् । ‘स्थानीय स्तरमा विपद्जन्य घटनाहरूको पहिलो जिम्मेवारीमा स्थानीय तह नै रहने भएकोले जनप्रतिनिधिहरूसहित कर्मचारीहरूसँगको समन्वय एकदमै महत्त्वपूर्ण छ’, गृह सचिव अर्यालले प्रजिअहरुलाई सामूहिक निर्देशन दिँदै भने-‘यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछोड्न निर्देशन दिनुहोस्’

यसैबिच मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकोप्टरदेखि अन्य प्रभावकारी स्रोतसाधनहरू चुस्त राख्न सम्बद्ध सबै पक्षहरूलाई अनुरोध गरेका छन् । जिल्लामा काम गर्ने सिलसिलामा कुनै कुरामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न भनेका गृह सचिव अर्यालले सहजीकरणका लागि हरबखत तयार रहेकोसमेत बताएका छन् । उनले विपद्बाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूमा आफै उपस्थित भई सहानुभूतिसहित आवश्यक सहयोग गर्न समेत प्रजिअहरुलाई निर्देशन दिएका छन् ।

गत जेठ २८ गतेदेखि भित्रिएको मनसुनका कारण देशभर भारी वर्षा शुरु भएको छ । नेपालको पूर्वी क्षेत्रबाट सक्रिय भएको मनसुन भित्रिएको २५ दिनमै ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाखभन्दा बढीको हानी नोक्सानी भएको छ ।