कांग्रेस–एमालेलाई रास्वपा सांसद झाको सुझाव- एकअर्कालाई विश्वास गर्नुस्

कांग्रेस–एमालेलाई रास्वपा सांसद झाको सुझाव- एकअर्कालाई विश्वास गर्नुस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली कांग्रेस र एमालेका नेताहरूलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर कांग्रेस–एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताएका हुन् । उनले प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ असारमा नै विश्वासको मत लिन चाहेको भएपनि कांग्रेस-एमाले डराएको बताए ।

विश्वासको मत लिन चार दिन बाँकी रहेको उल्लेख गर्दै उनले चार दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह गरे । सांसद झाले व्यापारीको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरूका पार्टीका सांसदले आफूहरूलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने बताए ।

उनले भने, ‘संसदीय प्रणाली र संविधान बनाउने दलहरूकै संसदीय प्रणाली र संविधानप्रति किन त्यति अविश्वास ? किन यो प्रणालीले र संविधानले काम नगर्ला र फेरि ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ ? तपाइँहरुकै संख्या छ । तपाइँहरुकै बहुमत हुने सम्भावना छ भने ४ दिन कुर्नुस् न । एक अर्कालाई विश्वास गर्नुस् न । सहकर्म र सहयात्राको गाथा गाउनुहुन्छ भने विश्वास पनि गर्नुस् । किन ४ दिनको लागि डराउनुहुन्छ ? तपाईँहरूले नै बनाएको संविधान र संसदीय प्रणालीमा लेखिएकै कुरा अभ्यास गरिँदैछ ।’