ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन : प्रदीप पौडेल

ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति नरहेकाे बताएका छन् ।

सोमबार संसद भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले अहिले अध्यक्ष ओलीलाई दुईवटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्ने गरी काम गर्न आग्रह गरे । उनले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तरार्द्धमा रहेको भन्दै देश र जनताको लागि काम गर्न आग्रह गरे ।

‘केपी ओलीज्यू जीवनको र राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । परिस्थितिले उहाँलाई फेरि नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ । झन्डै दुई तिहाइले समर्थन गरेको प्रधानमन्त्री हुँदै हुनुहुन्छ,’ उनले भने, ‘यो पटक प्रधानमन्त्री हुँदा देशका लागि हुनुस्, जनताका लागि हुनुस् । पछिल्लोपटक प्रधानमन्त्री हुँदा यो-यो गर्नुभयो भनेर भन्ने सक्ने र थाहा पाउने गरी नेतृत्व गर्नुस् ।’

सांसद पौडेलले कसैलाई सम्मान नगर्ने, संयोजन गर्न नसक्ने मान्छे भन्दै लाग्ने गरेको आरोपलाई मिथ्या सावित गर्नेगरी काम गर्न ओलीलाई आग्रह गरेका छन् ।