नयाँ सरकार सोमबार बन्ने, कांग्रेसको नेतृत्व प्रकाशमानले गर्ने

नयाँ सरकार सोमबार बन्ने, कांग्रेसको नेतृत्व प्रकाशमानले गर्ने



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा सोमबार मात्र सपथ लिने तयारी भइरहेको छ । असार २८ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको सामना गर्ने छन् । कुनै तिलस्मी घटना घटेन भने प्रधानमन्त्री दाहालले विश्वासको मत नपाउने निश्चित छ । उनी स्वतः पद मुक्त भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रकृया अगाडि बढ्ने छ ।

प्रधानमन्त्री दाहाल स्वतः पद मुक्त भएको सूचना संसद सचिवालयले राष्ट्रपति कार्यालयमा गराएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको बाटो खुल्छ । राष्ट्रपति कार्यालयबाट संविधानको धारा तोकेर प्रधानमन्त्रीको आह्वान हुनेछ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री आह्वान गरेसँगै कांग्रेस र एमालेले प्रधानमन्त्रीमा केपी ओलीलाई नियुक्त गरियोस् भन्ने प्रस्तावसहित झन्डै दुईतिहाइसहितको हस्ताक्षर बुझाउने छन् ।

आइतबार अबेरसम्म यो प्रकृया पूरा भएर प्रधानमन्त्री नियुक्ति हुने समाचारस्रोतको दाबी छ । प्रधानमन्त्री आइतबार नियुक्ति भए पनि सोमबारको साइतमा राष्ट्रपति कार्यालयले सपथ गराउने तयारी गरेको बुझिएको छ ।

केपी ओली प्रधानमन्त्री नियुत्त भएसँगै मन्त्रीहरुलाई पनि एकै पटक सपथ गराउने गृहकार्य दोस्रो तहका नेताहरुले गरिरहेका छन् । एमालेले पाउने प्रधानमन्त्रीबाहेक अन्य ९ मन्त्रालय र कांग्रेसले पाउने १० वटा मन्त्रालय लगभग टुंगो लागिसकेको छ । तर अन्य दललाई पनि सरकारमा सहभागी गराउनुपर्ने परिस्थिति सिर्जना भएपछि पहिले बनेको सहमती बिथोलिएको छ । परराष्ट्र र गृहमन्त्रालय कांग्रेस र अर्थ र भौतिक पूर्वाधार एमालेले लिने सहमति मात्र यथावत छ भने अन्य मन्त्रालयको टुंगो लागिसकेको छैन ।

कांग्रेस र एमालेबाहेक सरकारमा सहभागी हुने अन्य दलको टुंगो लागेपछि छलफल गरेर मन्त्रालय टुंग्याउने सहमति बनेको छ । शनिबारसम्ममा मन्त्रालय बाँडफाँडको टुंगो लाग्ने बताइएको छ ।

कांग्रेसको नेतृत्व प्रकाशमानले गर्ने
महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेस सरकारमा जाने तयारी गरेको थियो । तर महामन्त्री थापाले रोज्जा मन्त्रालय नपाउने भएपछि सरकारमा नजाने भएका हुन् । आफू पार्टी संगठनमै ध्यान दिने विराटनगरको एउटा कार्यक्रममा महामन्त्री थापाले बताइसकेका छन् ।

स्वास्थ्य अवस्था कमजोर रहेका प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व गरेर सरकारमा जाने इच्छा देखाएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो इच्छा राखिसकेका छन् । नेता सिंहले पार्टीबाट पाउने यो अन्तिम अवसर भएकाले विचार गर्न सभापति देउवासँग आग्रह गरेको बुझिएको छ । सभापति देउवाले सकरात्मक संकेत दिएसँगै नेता सिंहको घरमा आउजाउ ह्वातै बढेको छ ।