‘ओहो ! महासभापति ज्यू नमस्कार !’

‘ओहो ! महासभापति ज्यू नमस्कार !’


ग्लोब नेपाल
0
Shares

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुर्खेतमा कार्यकर्तालाई ‘महासभापति’ को संज्ञा दिँदै व्यङ्ग्य गरेका छन् ।

रास्वपाका कुनै पनि प्रशिक्षण कार्यक्रममा मोबाइल फोन प्रयोग गर्न नपाइने नियम रहेको बताउँदै उनले सुर्खेतमा आयोजित दुईदिने कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा कार्यकर्तामाथि सो व्यङ्ग्य गरेका हुन् ।

मञ्चबाट कार्यकर्तालाई एक मिनेटभित्र मोबाइल बन्द गर्न निर्देशन दिए पनि कार्यकर्ताले फोटो खिचिरहेको देखे पछि उनले यसरी सो व्यङ्ग्य गरेका हुन् ।

‘ओहो महासभापति ज्यू, नमस्कार । अब मोबाइल अफ नगरेपछि, सभापतिले भनेको नमानेपछि महासभापति त भन्नु पर्‍यो नि !’ उनले फेरि भने, ‘पत्रकार साथीहरूलाई हामी भिडियो उपलब्ध गराउँछौँ । अब प्रशिक्षण सुरु भयो । तपाईंहरू फोन बन्द गर्नुहोस् ल ।’

उनले विगतमा चोकचोकमा विद्रोहका आवाज उठेका, विद्रोह गर्न आफूहरूमा डर भएको बताउँदै विद्रोहमा नहोमिनुको डर भनेको कर्णाली भएको बताए ।

विद्रोह गर्दा यसअघि नै कर्णालीले धेरै क्षति भोगेको स्मरण गर्दै सभापति लामिछानेले कर्णाली रास्वपाको प्राथमिकतामा रहेको बताए ।

‘कर्णालीले रास्वपालाई एक भोट पनि नदेओस्, एक सिट पनि नदेओस्; हाम्रो सरकार रहेसम्म कर्णाली प्राथमिकतामा रहिरहनेछ ।’ सभापति लामिछानेले भने, ‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौँ, हाम्रा मान्छे जितायौँ भने बाटो बन्छ, पुल बन्छ हामी भन्दैनौँ, किनकि हामी कर्णालीमा सौदाबाजी गर्दैनौँ ।’