खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने खेलकुदमन्त्रीको प्रतिबद्धता

खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने खेलकुदमन्त्रीको प्रतिबद्धता



काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार राष्ट्रिय खेलकुद परिषद्ले गरेको बधाई कार्यक्रममा बोल्नुहुँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री चौधरीले मन्त्रालय मातहतका निकायहरूलाई सुशासनमा ध्यान दिएर काम गर्न निर्देशन दिए । उनले आफ्नो एउटै चाहना राम्रो काम गर्ने भएको पनि बताए । उनले ऐन, कानुनहरूको परिपालना गरेर मात्रै खेलकुदका गतिविधि सञ्चालन गर्न आग्रह गरे ।

‘तपाईँहरू सम्पूर्ण साथीहरूलाई यो विश्वास दिलाउन चाहन्छु । यो भरोसा दिलाउन चाहन्छु । हाम्रो यो कार्यकालमा तपाईँहरू ढुक्क भएर राम्रो काम गर्नुस् । यहाँका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने प्रतिबद्धता छ । सुशासनमा ध्यान दिन आग्रह गर्दछु । हाम्रो एउटै चाहना छ, काम गर्नुस्, राम्रो काम होस् ।,’ मन्त्री चौधरीले भने, ‘सुशासन कायम होस् । ऐन, कानुनहरूको परिपालना गर्न सक्नुभएन भने ढिलो चाँडो आफूलाई नै अप्ठ्यारो हुन्छ । बेरुजुको चाङ छ । अस्तिमात्रै बेरुजु हेर्दा ८५ प्रतिशत थियो । कागज मिलेको छैन भने कागज मिलाइदिनुस् । साथी भाइले केही रकम तिर्नु छ भने तिर्दिनुस् । छैन भने दिल खोलेर हिँड्नुस् । यहाँका बेरुजुको विषयमा सार्वजनिक लेखा समितिमा आउँछ ।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव १९ औँ एसियाली खेलकुद सकिए लगत्तै २० औँ एसियाली खेलकुदका लागि मिसन २०२६ भनेर अघि बढाएको उनले बताए । अहिले १० खेलको १२२ जना खेलाडी र १० वटा खेलका २० जना प्रशिक्षक रहनुभएको र विशेष प्रशिक्षणमा व्यवस्थित रूपमा अघि बढाएको उनले जिकिर गरे ।