“रङ्गमन्चीय कला संस्कृतिको बिकास गर्दै यसैको माध्यमद्वारा असल समाज र समृद्ध मानवीय मूल्यको स्थापना गर्नु ।”
सर्बनाम नाट्यकला भवनमा मुस्कुराइरहेको यो पवित्र र महान् गन्तब्य बोर्ड देखेर पंक्तिकारको मन छोयो । उर्जा र खुशीको छाल उर्लियो ।
यो भवनको अर्को भित्ताले छाती खोलेर सगौरव भवनका परिकल्पनाकार अशेष मल्लको सपना अंगालो हालिरहेको थियो –
“मेरो देशको यो रङ्गसम्पदा असल समाज निर्माणार्थ सिर्जनशील प्रतिभाहरुका लागि अनन्तकालसम्म कर्म स्थल बनिरहोस् । मलाई बिश्वास छ । जसले उच्च मानवीय मूल्यसँगै रङ्गकर्म र कलालाई समृद्ध बनाउन योगदान पु-याइरहने छ ।”
यो देखेर मेरो मनको अंधेरी रातलाई चिर्दै सुनौलो घाम उदायो र आङ्ग न्यानो बनाइदियो । म आश्वस्त भएँ– सुन्दर मातृभूमिको प्रकृति र संस्कृतिको अन्तिम रक्षक कलाकारहरु हुन् । प्राज्ञ र साहित्यकारहरु हुन् ।
जब म टिकट काटेर भ-याङ्ग उक्लिएं र सुनसान हलमा प्रबेश गरें, अनि देखें सुनसान एक्लो पृथ्वी । बस्न बाँच्न अयोग्य पृथ्वी । काम नलाग्ने भैसकेको उजाड मरुभूमि । र, पृथ्वीको एउटा कुनामा हाडखोर अस्थिपञ्जर सिरानी हालेर मृत्युसैयामा सुतिरहनु भएको एक जना आदिबासी । सायद यो धर्तीलाई औधी माया गर्ने धर्तीपुत्र ।
आङ्ग जिरिङ्ग भयो ।
धरातलीय यथार्थको भयाबह दृश्य दिमागमा कुद्न थाल्यो ।
हतास बलात्कार शैलीमा र तीब्र गतिमा उत्खनन, दोहन, बिक्री–बितरण र बिनास भइरहेका छन् हिमाल, पहाड, नदीनाला, ताल, झरना, जल, जंगल, जमिन, जीबजन्तु, जडिबुटी, जीवन वायु ।
सगरमाथा भन्दा अग्लो मोटो प्रश्नचिन्ह खडा भयो– यो पृथ्वीको आयु कति ?
बिनासकारी बिकासमा किन पूर्णबिराम लाग्दैन । खोई युरोप अमेरिकाको बिकासमा पूर्णबिराम लागेको ? बिकासको प्यासी काकाकुल कर्णालीको अगाडि काठमाडौंको बिकासमा ५ बर्षलाई पूर्णबिराम लाग्नुपर्ने होइन र ? काठमाडौंको बिकास बजेट कर्णालीमा खन्याउनु पर्ने होइन र ? त्यो पनि कर्णालीको प्राकृतिक सौन्दर्यतालाई कत्ति पनि घन्चमन्च र बिनास नगरी वातावरणमैत्री बिकासको सर्तनामा पालना गर्ने गरी । अनि खोइ पूर्णबिराम हाम्रो आवश्यकता र चाहनामा ? खोइ पूर्णबिराम मानिसहरुको तिर्सना, आशक्ति र घमण्डमा ? आफू उभिएको धर्तीमाता भष्म गरेर मंगलग्रह बसाई सर्ने उसको महत्वकांक्षा र ध्वांसमा । भावी सन्ततिको रत्तिभर चिन्ता नगर्ने उसको अमानवीय र असंवेदनशील अहंकारमा ।
विज्ञान र प्रविधिको पूर्णबिराम कल्पना बाहिरको कुरा ।
मानव–मानवबीच प्रेम सहिष्णुता सद्भाव सहयोगको गीत गाउने तर सहर, देश, महादेश ध्वस्त र खरानी पार्ने हातहतियारको उत्पादन र भण्डारण बढाइरहने । र, प्रकृति धर्तीमातामाथि निर्मम परीक्षण प्रहार गरिरहने । प्रकृति र मानव बिरोधी काममा पूर्णबिराम किन कहिल्यै नलाग्ने ?
पूर्णबिराम नाटकले दर्शकहरुको दिमागभित्र प्रश्नहरुको बाढी ल्याइदिएको छ । चिन्ताको हिमाल खडा गरिदिएको छ ।
मानिस यति धेरै चलाख र धुर्त छ कि उसले जलवायु परिवर्तनको संकटको कालो सुरुङ्ग देखाई दिएको छ । समाधानको उपाय पनि बताइदिएको छ । तर संकटको सृजनाकार मान्छे हो भनेर किटान गर्न कञ्जुस्याई गर्दछ । युद्ध महायुद्ध हो भन्ने सत्य लुकाउँछ । धुम्रपान र मदिरापान हो भन्न डराउछ । र, तिनै युद्ध सामाग्री र बिषादी उत्पादनमा मरिहत्ते भइ लाग्दछ । र, बाँकी रहेको जल जंगल जमिन जीब जडिबुटी रक्षामा तन मन धन लगाउँदैन ।
यो संवेदनशील नाटकले त्यही अन्तिम पृथ्वीको कल्पना गरेको छ । जल जंगल बिनाको उजाड पृथ्वी । अक्सिजन बिनाको मृत आकाश । अथवा, ज्यान लिने भाइरस नै भाइरसको डरलाग्दो आकाश ।
मानव–विज्ञान द्वन्द्व रोचक तर पीडादायी छ । विज्ञान र आबिष्कारलाई प्रयोगशाला प्रकृति र धर्तीमाताको रत्तिभर माया चिन्ता लाग्दैन । राजनीतिलाई प्रकृति र पृथ्वीको जतिसक्यो दोहन गरेर भोट किन्नु छ, जित्नु छ । र, पुनः झन धेरै दोहन गर्नुछ । बिश्व मै थोत्रे र असफल सिद्ध भइसकेको कुहिएको गन्हाउने राजनीतिलाई प्रकृतिनीति, वातावरणनीति, मानवीयनीति अथवा धर्मनीतिले बिस्थापित गरेर पृथ्वी र मानवको सम रक्षा, कल्याण, सम्मान गर्ने अर्को बैकल्पिक उत्कृष्ट र आदर्श कल्याणकारी नीति नआएसम्म प्रकृति बिनासको दुषित राजनीतिको पूर्णबिराम असम्भव देखिन्छ ।
कोभिड–१९ को याद
नाटकमा जब पृथ्बीमा बाँचिरहेका अन्तिम परिवारले जन्मदिन मनाईरहेका हुन्छन्, प्रेमिकाको अगाडि हाँसिरहेका बर्थडे युवा डङरङ्गै भुँइमा ढल्दछन् । सर्बत्र अक्सिजनको हाहाकार हुन्छ । सोर्सफोर्स र घुस बिना अक्सिजन पाउन गाह्रो हुन्छ । दुषित राजनीति, अक्सिजन कब्जा गर्न उद्यत हुन्छ । र, बिरामी जगतका बुबा जल्दाबल्दा मेयर अक्सिजनको जुगाड गरेर पुत्र बचाउन हत्तेहिरिक गर्दछन् । तर, अक्सिजनमाथि मन्त्रीको कब्जा भइसक्छ । मन्त्रीमाथि प्रधानमन्त्री हावी हुन्छन् । दर्शकहरुलाई ठ्याक्कै कोभिड–१९ को भयाबह अवस्था याद आउँदछ ।
मन्त्रीहरुले पहिला भ्याक्सिन लगाएको । बढी डोज् लगाएको । घरमा भ्याक्सिन लुकाएको । आफन्तलाई पहिला लगाई दिएको । भ्याक्सिन गायब भएको । भ्याक्सिन बेचेको । भ्याक्सिन लुकाउँदा लुकाउदै प्रयोग मिति गुज्रेको । अक्सिजन, औषधीमाथि राजनीतिक र माफिया कब्जा भएको । ढुकुटी कब्जा र दुरुपयोगको अभ्यास त्यो महामारीको उपचार र औषधी कब्जा गर्न पुनराबृत्ति भएको निर्मम दृश्य अनैतिकता र स्वार्थको पराकाष्ठा थियो । “म र मेरा परिवारजन मात्र बाँचून” भन्ने ध्येयबाहेक अर्को ध्येय थिएन । थियो त त्यस्तो जीवन मरणको दोसाँधमा समेत सहयोग स्वरुपदाताले निःशुल्क दिएको भ्याक्सिन नलिने र राष्ट्रिय ढुकुटीले भ्याक्सिन, पिपिई, मास्क, प्लाष्टिकको पञ्जा खरिद गरिहाल्ने र चितामा चढ्नु अगाडि कमिसन खाइखाल्ने अर्को अन्तिम पापी ध्येय थियो, अनैतिक र असंवेदनशील सत्तासँग । लाजको पसारो ।
राजनीतिक सत्तालिप्सा र अक्षमताले महामारीको ह्याण्डलिङ र ब्यवस्थापन चुस्त दुरुस्त हुन सकेन । गरिब निमुखाहरुलाई भ्याक्सिन र अस्पतालको बेड लंकाको सुन भयो । र, अकालमा धेरैको ज्यान गयो । त्यो महामारी होस् वा ८ बर्ष पुरानो महाभुकम्प नेपाली सेना र अन्य सुरक्षा निकायले ईमान्दार हात, साथ, कांध नथापिदिएको भए सरकारलाई कार्यालय र निवासबाट थुतेर जनताले डाँडो कटाउने निश्चित थियो ।
पूर्णबिराम नाटकले राजनीतिक षड्यन्त्र र स्वार्थलाई तिखो ब्यङ्ग्य गरेको छ । मञ्चमा जुत्ताले हाने जस्तै गालामा दरो झापड् हानेको छ ।
आम्खारा भरि घट्घट् पानी पिएको मानवजीवन सुख्खा मरुभूमि पृथ्वीमा अनुकूलन हुँदै गएको र काकाकुल जीवन जिएको देखाईएको छ । थोपा थोपा पानीमा बाँचेका बैज्ञानिकहरुको पानी पत्तो लाउने मेसिन र जाँगर बडेमानको छ । बिज्ञानको अहंकार र ध्वाँसले पृथ्वीलाई लज्जित तुल्याएको छ । दर्शकहरुलाई बस्त्र छाम्ने बनाएको छ ।
धर्तीपुत्र आदिबासी अन्तिम सास भएसम्म एक्लै बिज्ञानको अहंकारसँग लडिरहेको छ । नछोउ मेरो धरा र दुई थोपा जल भनेर माटोलाई अंगालो हालेर धर्तीपुत्र कष्टकर जीवन जिइरहेको छ । आदिबासीलाई नाङ्गो भोको राखेर उसको प्यारो धरा खोस्न बिज्ञान कुना कन्दरा सर्बत्र पुगेको छ ।
उच्च सम्मान र सलाम छ यो नाटकका प्रकृतिप्रेमी लेखक, निर्देशक र युवा अभिनयकर्ताहरुलाई । उहाँहरुको सृजना, प्रतिभा र दूरदृष्टिलाई । उच्च हौसला र मनोबल झल्किने गहन, महान, अर्थपूर्ण र उर्जाशील लेखन निर्देशन र अभिनयलाई । यो नाटकलाई समय थपिदिने नाट्यशालालाई ।
बिल्कुल बिरामी र अस्तित्व संकटबाट गुज्रिरहेकी प्रकृतिमाता र धर्तीमाताको उद्धार उपचार गर्न यो र यस्तै नाटकहरु सृजना र प्रस्तुति भइरहून् । सहरमा केन्द्रित यी वातावरण शिक्षाप्रद नाटकहरु स्थानीय समुदायसम्म पुगून् । स्थानीय समुदायलाई संरक्षण सचेतना र उर्जा भरुन् । बिकृत र दुषित राजनीतिलाई सङ्लो शुद्ध पार्न एउटा हातमा निर्मल चक्की र अर्को हातमा सिस्नो पानीको कठोर बाध्यकारी बिकल्प लिएर स्वतन्त्र र अराजनीतिक कलाकारहरु यसैगरी खडा भइदिउन् ।
हामी जलवायु परिवर्तनको लागि हरित ग्यास उत्सर्जन गर्ने महसुर दोषी होइनौं । तर जलवायु परिवर्तनको मुक्का धक्का खाने निर्दोष गरिब बिपन्न राष्ट्र हौं ।
जलवायु परिवर्तन भन्दा दश गुना बिषाक्त र ज्यानमारा छ हाम्रो राजनीतिक कुनियत र नीतिगत भ्रष्टाचार । आफ्नो खुट्टामा उभिन नसकेको राजनीतिलाई सिस्नाको ओछ्यानमा सुताएर माफियाहरुले प्रकृतिको अकल्पनीय उत्खनन्, दोहन र विनास गरिरहेको दृृश्य कारुणिक छ । घोर अन्यायपूर्ण छ । भावी सन्ततीहरुको सास, गाँस, वास, कपासको भविष्य खोसेर वर्तमान पोस्ने राजनीतिक कुनियत र दुष्कर्ममा शीघ्र ब्रेक लगाउन जरुरी छ । चरम भ्रष्टाचारयुक्त कुशासनको बिषबृक्षको जरो किलो उखेलेर सुशासनको सुन्दर र बिशाल बृक्ष शीघ्र हुर्काउन, फुल्न, फलाउन अति आवश्यक छ । जसको लागि कलाकार, प्राज्ञ, साहित्यकार यस्ता पर्या–कला पर्या–साहित्यका हतियार लिएर खडा हुन जरुरी छ ।
किनभने निरक्षर र बिपन्न राजनीति, कुटनीति, अर्थनीति, सुरक्षानीति, पर्याबरण सम्पदा रक्षा नीतिलाई सुसूचित, सावधान, सतर्क, सचेत र शिक्षित गराउन कला माध्यम रामवाण हुन सक्दछ । सुशासन बहाल भै शिक्षा र समृद्धिको भ-याङ्ग नचढेसम्म यस्तो शिक्षाप्रद नाट्यकलामार्फत कलाकारहरुले प्रकृति र धर्तीमातालाई रक्षा कवच प्रदान गरिरहनुपर्दछ र त्यो सशस्त्र पहरा भन्दा कैयौंगुना असरदार रक्षाकवच हो र शीघ्र परिवर्तनको रामबाण संवाहक पनि हो ।
पंक्तिकारलाई ७० मिनेट लामो पुर्णविराम नाटक पुराण जस्तो शिक्षाप्रद र प्रभावकारी लाग्यो । ७० मिनेट बितेको पत्तो भएन । पुनः प्रार्थना छ, दुई पटक हेरेको यो पर्यानाटक तेश्रो पटक पनि हेर्न पाउँ ।
अन्त्यमा, पूर्णबिराम प्रकृति र पृथ्वीलाई होइन, राजनीतिक, सामाजिक बिसंगति, बिकृति र प्रकृति बिनासलाई । यो नाट्य–त्याग प्रकृति र पृथ्वीको उज्वल भविष्यलाई ।
पुनः सलाम सम्पूर्ण टिमलाई ।
प्रतिक्रिया