काठमाडौं । विश्व फुटबलको सर्वाेच्च निकाय फिफा वरीयतामा स्पेनले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार स्पेन पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेको छ । स्पेन यसअघि आठौँ स्थानमा थियो ।
यस्तै फिफा वरीयतामा भेनेजुएला एकैपटक १७ स्थान माथि उक्लिएको छ । यसअघि ५४ औँ स्थानमा रहेको भेनेजुएला १७ स्थान माथि उक्लिँदै ३७ औँ स्थानमा आइपुगेको हो । वरीयतामा चेक रिपब्लिक एकैपटक १३ स्थान तल झरेको छ । यसअघि ३४ औँ स्थानमा रहेको चेक रिपब्लिक १३ स्थान तल झर्दै ४७ औँ स्थानमा पुगेको छ ।
नयाँ वरीयताअनुसार अर्जेन्टिना शीर्ष र फ्रान्स दोस्रो स्थानमा यथावत् छन् । यस्तै इङ्गल्यान्ड एक स्थान सुधार गर्दै चौथौ स्थानमा उक्लिँदा ब्राजिल एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेको छ । फिफा वरीयतामा नेपाल एक सय ७५ औँ स्थानमा यथावत् छ ।
प्रतिक्रिया