यूएईलाई हराउदै एसिया कपको उद्घाटन खेलमा नेपालकाे जित

यूएईलाई हराउदै एसिया कपको उद्घाटन खेलमा नेपालकाे जित

कप्तान इन्दू बर्मा र सम्झना खड्काको उत्कृष्ट प्रदर्शन



काठमाडौँ । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । श्रीलंकाको डम्बुलामा नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले उत्कृष्ट प्रदर्शन गरे । इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन् ।

नेपालका सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात परे । यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् ।

नेपालले एसीसी महिला एसिया कपमा पहिलोपटक जित हात पारेको हो ।

यसअघि एसिया कपमा ८ खेल खेलेपनि नेपालले जित हात पार्न सकेको थिएन । नेपालले सन् २०१२ र २०१६ मा लगातार दुईपटक एसिया कप खेलेको थियो । त्यतिबेला खेलेका सबै ८ खेलमा नेपाल पराजित भएको थियो ।