काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताएका छन् । तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकमा दुई ठुला दल मिलेर सरकार बन्नु भनेको नै राजनीतिक स्थिरताको सन्देश दिएको बताए ।
“विगतमा राजनीतिक अस्थिरता हुँदा जनचाहनाअनुरूप काम भएन । अब स्थिर सरकार बनेको छ, यसले विगतको भन्दा सकारात्मक र प्रभावकारी काम गरेर देखाउँछ”, उनले भने । उनले नयाँ सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने विश्वास व्यक्त गरे ।
उपप्रधानमन्त्री सिंहले स्थानीय तह प्रत्यक्ष जनतासँग जोडिएको सरकार भएकाले जनताको अपेक्षाअनुसार प्रभावकारी काम गर्न ध्यान दिनुपर्नेमा जोड दिए । नयाँ प्रशासकीय भवन सञ्चालन भएपश्चात् सेवा प्रवाह थप प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको उनले बताए ।
कांग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले नयाँ प्रशासकीय भवन निर्माण भएसँगै जनताले सहजरुपमा सेवा पाउने बताए । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय तहमा देखिएका समस्या समाधान गरी समृद्ध तारकेश्वर निर्माण गर्ने उद्देश्यले काम गरिरहेको स्पष्ट पारे ।
वि.सं.२०७७ असोज २९ गते सम्झौता भई वि.सं.२०७९ चैतमा सम्पन्न भएको उक्त भवन १७ करोड १५ लाख चार सय ८४ मा निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जानकारी दिए ।


प्रतिक्रिया