माधव नेपाललाई ओलीको कटाक्ष: परार बनेको पार्टीले संबिधानको चिन्ता लिनुपर्दैन

माधव नेपाललाई ओलीको कटाक्ष: परार बनेको पार्टीले संबिधानको चिन्ता लिनुपर्दैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई संविधानको चिन्ता नगर्न आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपालप्रति संकेत गर्दै परार बनेको पार्टीले संबिधानको चिन्ता नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन । हामीले लिन्छौं । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस् ।’

यसअघि संसदमा बोल्दै  एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीबाट संविधान खतरा रहेको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओलीले गिरिबन्धु टि इस्टेटमा आफूलाई जोड्न आवश्यक नभएको बताएका छन् ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गिरिबन्धु के हुन्छ भनेर प्रश्न गरेका थिए । ओलीले विभिन्न समयमा हदबन्दी भन्दा बढीका जमिन कानुनी नबनाई सट्टापट्टा हुने गरेको बताए ।

त्यही गिरिबन्धुको पनि जग्गा कानुन नबनाई सट्टाभर्ना भएको उनले बताए । कानुन बिना नहोस् भनेर आफू प्रधानमन्त्री हुँदा कानुन बनेको, तर त्यसअनुसार कारबाही नभएको भन्दै ओलीले भने, ‘अनि यो होहल्ला केका लागि ?

गिरिबन्धु टि इस्टेटको मुद्दा अदालतमा गएर फैसलासमेत भइसकेको भन्दै उनले भने, ‘बेचबिखचन भएको छैन । हुनुभन्दा अगाडि यस्तो यस्तो गर्नु भनेर शर्त राखिएको थियो । अदालतले त्यसलाई रोकिदियो ।’

अदालतले कानुन निर्माणलाई नीतिगत भ्रष्टाचार नभनेको उनले बताए । ‘संसदले कानुन बनायो । त्यहाँ नीतिगत भ्रष्टाचार छैन’, अदालतले पनि त्यसो नभनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई गिरिबन्धु टि इस्टेटका नाममा अफवाह फैलाउने अभ्यासलाई निरन्तरता दिनु छ भने बेग्लै कुरा होला, तर यो जरुरी छैन भन्ने ठान्छु ।’