बीआरआई सम्झाैता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान सकिँदैन : परराष्ट्रमन्त्री

बीआरआई सम्झाैता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान सकिँदैन : परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले चीनसँग गरिएको बेल्ट एन्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छन् ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजकाे बैठकमा परराष्ट्रमन्त्री राणाले बीआरआई कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरिन् ।

मन्त्री राणाले परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्नेबारेमा सरकारभित्र छलफल भएपछि संसद्, संसदीय समिति र सम्बन्धित पक्षहरूसँग पनि विस्तृत छलफल गरेर अघि बढाइने बताइन् । एमसीसी परियाेजना संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै उनले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको उल्लेख गरिन् ।

परराष्ट्रमन्त्री राणाले बीआरआई परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको तर सम्बन्धित सबै पक्षसँग छलफल गर्न आवश्यक रहेको बताइन् ।