काठमाडौँ । चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलमा बिहीबार जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हरायो । चर्च ब्वाइजको जितमा दावाछिरिङ लामा र शिशिर यस्मालीले गोल गरे । जितसँगै चर्च ब्वाईजले चार खेलबाट सात अंक बनाएको छ । आर्मीको चार खेलबाट एक अंक छ ।
यसअघि भएको पहिलो खेलमा मच्छिन्द्रले एफसी खुमलटारलाई २–१ गोलले स्तब्ध बनायो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मच्छिन्द्रको जितमा कविर तामाङ र रोनिक रानामगरले गोल गरे ।
खुमलटारका पवन दर्लामीले गोल फर्काएपनि टोलीको हार टरेन । जितसँगै मच्छिन्द्रले चार खेलबाट आठ अंक बनाएको छ । खुमलटारको समान खेलबाट तीन अंक छ ।
प्रतिक्रिया