हेटौंडा । बागमति प्रदेशमा कांग्रेसभित्रको आन्तरिक लडाइँ सतहमा छताछुल्ल भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले केन्द्रको निर्देशन मान्दा र विवेक नपुर्याउँदा मन्त्रालयलाई भन्दा बढी मन्त्री नियुक्त गर्न पुगेका छन् । मदुकुमार श्रेष्ठलाई मन्त्रालय नै पुगेको छैन ।
मुख्यमन्त्री लामाले हिजाे बिहीबार कांग्रेसका ४ जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरूमा मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, विमल ठकुरी र प्रभात तामाङ छन् । नव नियुक्त मन्त्रीहरूको मन्त्रालयसमेत तोकिएको छ । जसमध्ये मीनकृष्णलाई युवा तथा खेलकुद मन्त्रालय, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र प्रभातलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गत बुधबार सपथ लिइसकेका कांग्रेसकै ३ जनामध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिइए पनि एक जनाको मन्त्रालय अझै टुंगो लागेको छैन । कुन्दनराज काफ्लेलाई सामाजिक विकास मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सुम्पिँदा मदुकुमार श्रेष्ठको मन्त्रालय तोकिएको छैन ।
१४ सदस्यीय मन्त्रिपरिषद्मा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, किरणले थापा स्वास्थ्य मन्त्रालय र सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया