कोशी प्रदेशमा कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?

कोशी प्रदेशमा कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?



काठमाडौं । कोशी प्रदेशको हिक्मत कार्की सरकारमा कांग्रेस मन्त्रीले मंगलबारसम्ममा सपथ लिँदैछन् । कांग्रेस र एमालेले केन्द्रकै मोडेलमा प्रदेश सरकार सञ्चालन गर्ने सहमति गरेका छन् । एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको छ भने कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति बनेको छ ।

कांग्रेसबाट को–को मन्त्री बन्दैछन भन्ने कुरा निर्धारण भइसकेको छैन । कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठक भोलि बस्दैछ । बैठकले औपचारिकताका लागि भए पनि मापदण्ड बनाएर मन्त्रीको नाम सिफारिस गर्ने बुझिएको छ ।

मन्त्री बन्न आकांक्षी आधाउदी सांसदहरु केन्द्रबाट दबाब दिन काठमाडौंमा छन् । उता कांग्रेस संसदीय दलका नेता उद्धव थापासँग मन्त्री माग्न जानेको लर्को छ । थापाले ‘मेरा लागि २८ जना सांसद नै बराबरी हुन्, सबैको नाम म मन्त्रीमा सिफारिस गर्छु’ भन्ने जवाफ दिएर फर्काउने गरेका छन् ।

समाचारस्रोतका अनुसार मन्त्रीमा ३ जना पुरुष र एकजना महिलाको नाम सिफारिस हुने लगभग पक्का जस्तै छ । यी चार भाग्यमानी को–को हुन् त्यो भने अहिलेसम्म खुलेको छैन । हिमाल कार्की, भीम पराजुली, भुपेन्द्र राई, भूमि राजवंशी र मानबहादुर लिम्बुको नाम चर्चामा छ । महिलामा सुनिता गच्छदार, लक्कीकुमारी गणेश, मैयाँ श्रेष्ठ र डोल्मा तामाङको नाम मन्त्री बन्ने चर्चामा छ ।

कोशी प्रदेशको कांग्रेस राजनीतिमा कृष्ण सिटौला हाबी छन् । उनले सिफारिस गरेका नाम नै मन्त्री हुने बढी सम्भावना रहन्छ । यद्यपि जातिय र भेगिए सन्तुलन मिल्ने गरी मन्त्री बनाइने संसदीय दलका नेता थापाको भनाइ छ । यी चर्चामा आएको नाममध्ये उदयपुरका हिमाल कार्की मन्त्री बन्ने लगभग कन्फर्म जस्तै हो । उनी संसदीय दलका उपनेता हुन् ।

त्यसबाहेक सिटौला क्याम्पका भीम पराजुली र भुपेन्द्र राईको नाम चर्चामा छ । यी दुईमध्ये एकजना मन्त्री बन्न सक्ने बताइएको छ । जसले मन्त्री बनाउँछ, त्यही क्याम्पमा जाने घोषणा पराजुलीले गरिसकेका छन् । उनी विराटनगर महानगरपालिकाका पूर्व मेयर हुन् । राई प्रदेश महामन्त्री हुन् । त्यसैले यो लटमा उनको मन्त्री बन्ने सम्भावना बलियो रहेको बताइन्छ ।

यता शेखर समूहले मानबहादुर लिम्बुको नाम सिफारिस गरेको बुझिएको छ । मन्त्री बन्ने चर्चामा रहेका भूमि राजवंशीको समूह कतै पनि खुलेको छैन । महिलाबाट मन्त्री बन्नेमा मैया श्रेष्ठको नाम सबैभन्दा अगाडि छ । श्रेष्ठ संस्थापन पक्षबाट मन्त्री बन्न सक्ने बताइएको छ । सोलुकी डोल्मा तामाङले भने बुढानीलकण्ठबाटै फोन हनाउने काममा लागिपरेकी छन् ।

विजय गच्छदारको नातेदार सुनिता गच्छदारलाई पनि मन्त्री बनाउन दबाब संसदीय दलका नेता थापामाथि परेको छ । लक्कीकुमारी गणेशलाई पनि महिला कोटाबाट मन्त्री बनाउने आश्वसन सिटौलाले दिएको बुझिएको छ ।

बन्दनालाई महामन्त्री शर्माको एसएमएस
इलामबाट समानुपातिक निर्वाचित सांसद खगेश्वरी पौडेल (बन्दना) लाई केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले मन्त्री बन्ने लिस्टमा नाम भएको एसएमएसबाट जानकारी गराएका थिए । पार्टी महामन्त्रीबाट प्राप्त एसएमएसबाट मन्त्री बन्ने सूचना प्राप्त गरेकी बन्दनाको खुशीको सीमा रहेन । उनी मन्त्री बनेको कल्पनामा डुब्न थालिन् ।

तर, उनको खुशी आधा घण्टाभन्दा बढी टिकेन । केही क्षणपछि महामन्त्री शर्माले नै ‘सरी’ लेखेको एसएमएस पठाए । त्यसपछि उनले आफू मन्त्री बन्ने रेसबाट बाहिरिएको अनुभव गरिन् ।