श्रीमतीको हत्यापछि ढोका थुनेर घरमै बसिरहेका थिए- गणेश

श्रीमतीको हत्यापछि ढोका थुनेर घरमै बसिरहेका थिए- गणेश


ग्लोब नेपाल
216
Shares

काठमाडौं । प्रहरीले राति श्रीमतीको हत्यापछि घरमै ढोका थुनेर बसिरहेका श्रीमान पक्राउ गरेको छ । दाङको राजपुर गाउँपालिका–१ रसरीका ३८ वर्षीय गणेश घर्तीले गएराति आफ्नै ३७ वर्षीया श्रीमती बसन्ती घर्तीको रड प्रहार गरी वीभत्स हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

सधैं बिहानै खुल्ने ढोका घर्तीको घर सोमबार बिहान ९ बजेसम्म पनि नखुलेपछि छिमेकीले आशंका लागेर स्थानीय प्रहरीलाई सूचना दिएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल पुगेकी इप्रका गढवाकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार ढोका खोलेर हेर्दा वसन्तीको वीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

दर्जनौं पटक टाउको र अनुहारमा रडले प्रहार गरी वसन्तीको हत्या भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएकी छन् । तर, राति नै घटना भए पनि हत्या आरोपी गणेश भने सोही घरभित्रै छुट्टै कोठामा ढोका थुनेर बसिरहेको अवस्थामा फेला परेका थिए ।

‘भान्सा कोठाको ढोका लगाई हातमा रड लिएर एउटा झ्यालमात्रै खोलेर हत्या गरिएकी श्रीमतीको शव हेरेर ऊ उभिएको थियो,’ प्रहरी निरीक्षक कार्कीले भनिन्,‘उनीहरूका ८ र १२ वर्षका छोरा पनि सोही घरभित्रै थिए ।’

तीन छोराहरूमध्ये एक जना १४ वर्षीय छोरा भने आफन्तको घरमा गएको हुँदा दुई छोरा घरमै भेटिएको कार्कीले जानकारी दिएकी छन । गणेशले आवेशमा आएर आफूले श्रीमतीलाई दर्जनौं पटक रड प्रहार गर्ने गल्ती गरेको पश्चाताप प्रहरी समक्ष व्यक्त गरेको प्रहरी निरीक्षक कार्कीले बताइन् ।

सामान्य भनाभनका क्रममा आवेशमा आएर श्रीमानले श्रीमतीमाथि निर्मम तरिकाले रड प्रहार गरी हत्या गरेको खुलेको कार्कीले जानकारी दिइन्।