काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’
आजको सचिवालय बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसामयिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । गएको असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो ।
सचिवालय बैठक सिंहदरबार गेट अगाडि रहेको बसेरा होटलमा बसेकाे छ ।
प्रतिक्रिया