राताे मच्छिन्द्रनाथकाे रथ लगनखेलबाट जावलाखेलतर्फ तान्न थालियाे

राताे मच्छिन्द्रनाथकाे रथ लगनखेलबाट जावलाखेलतर्फ तान्न थालियाे



काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेलको थतिटोलबाट जावलाखेलतर्फ तान्न थालिएकाे छ । गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले दिएको जानकारीअनुसार पाटन क्षेत्रका स्थानीयवासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रूपमा रथलाई तानेर आज जावलाखेल पुर्‍याइनेछ ।

सातगाउँमा सतुङ्गल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर छन् । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले परम्परागत बाजा, झाँकीसहित रातो मच्छिन्द्रनाथको रथ तानिने जानकारी दिए ।

आज रथ तान्नका लागि हिजो बेलुकी रथको टुप्पोबाट नरिवल खसालिएको थियो । रथको टुप्पोबाट दुई पटक नरिवल खसाल्ने परम्परा छ । रथलाई आजै जावलाखेल पुर्‍याउन सके आउँदो आइतवार भोटो जात्रा हुनेछ । लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुयाइएको चार दिनमा भोटो देखाउने परम्परा छ ।

भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

रथलाई लगनखेलबाट जावलाखेल तान्नका लागि गएको जेठ १७ ज्योतिषहरूले आजको साइत निकालेका थिए । रथयात्राका लागि ललितपुर महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्नुका साथै सडक वारपार रहेका तार हटाएको छ । रथ तान्ने क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको छ । यस्तै अहिले रथ तान्ने क्षेत्रमा चहलपहल बढेको छ ।

गएको वैशाख २७ गते बिहीवार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा शुरू भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालको मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा विधिवत् रूपमा शुरू भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भएको जानकारी दिन यस पटकदेखि भोटो देखाएको भोलिपल्ट सप्तपातल पोखरीमा माछा छोडिनेछ ।

रातो मच्छिन्द्रनाथको जात्रा सकिएपछि जोडी परेवा उडाएर मत्र्यमण्डलमा र पोखरीमा जोडी माछा छोडेर पालाल जानकारी दिनुपर्छ भन्ने किंवदन्ती छ, सप्तपाताल पोखरीको विनाशसँगै यो प्रचलन रोकिएको थियो, यसपटक पोखरीको पुनर्निर्माण गरिसकेकाले अब यो परम्परा पुनर्जीवित हुनेछ ।