इनारमा निसास्सिएर युवकको मृत्यु, वडा अध्यक्षसहित पाँच जनाविरुद्ध जाहेरी

इनारमा निसास्सिएर युवकको मृत्यु, वडा अध्यक्षसहित पाँच जनाविरुद्ध जाहेरी


ग्लोब नेपाल
0
Shares

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१२ पररियास्थित निर्माणाधीन इनारमा काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएपछि वडा अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दर्ता गरिएको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ निवासी चन्द्रप्रकाश महतोले आफ्ना २१ वर्षीय छोरा बसन्त कुमार कुशवाहाको मृत्यु लापरवाहीका कारण भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिनुभएको हो ।

जाहेरीअनुसार निर्माणाधीन इनारभित्र रुखको जरा काट्ने क्रममा प्रयोग गरिएको मेसिनबाट निस्किएको धुवाँका कारण बसन्त कुमार कुशवाहा निसास्सिएर बेहोस भएका थिए।

गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। पीडित परिवारले गौशाला नगरपालिका–१२ का वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएको छ।

परिवारले इनारभित्रको जोखिमबारे जानकारी हुँदाहुँदै पर्याप्त सुरक्षा सतर्कता नअपनाई काममा लगाइएको तथा गम्भीर लापरवाहीका कारण युवकको ज्यान गएको आरोप लगाएको छ।

इलाका प्रहरी कार्यालय गौशालाले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदन, घटनास्थल मुचुल्का, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।घटनाका मुख्य आरोपितमध्ये रहेका वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासँग प्रतिक्रिया लिन प्रयास गरिए पनि सम्पर्क हुन सकेन ।

समाचार तयार पार्दासम्म उहाँको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।यस घटनाले स्थानीय तहअन्तर्गत सञ्चालन हुने निर्माण तथा पूर्वाधारसम्बन्धी काममा श्रमिक सुरक्षाको विषयलाई पुनः गम्भीर रूपमा उठाएको छ।