सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिदै


ग्लोब नेपाल
81
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिदै छन् । आज ४ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकबाट सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् । अल्पमतमा रहेका सोडारीले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिनसक्ने समेत बताइएको छ । 

गत असार २० गते नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए । 

सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नाउपाका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा गत बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

तर, केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै  एमालेले सरकार छोडेको थियो । कांग्रेस र एमालेबीचको सहमति अनुसार सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने भएको छ ।

५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ भने प्रदेशमा कांग्रेस र एमाले एक ठाउमा आउदा दुवैको २८ मतसहित स्पष्ट बहुमत रहेको छ । सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक एक सांसद रहेका छन् ।