सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त



धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शाहको मुख्यमन्त्रीमा यो दोस्रो कार्यकाल हो । पहिलाेपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए ।

उनी समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन् । प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भए । तर २०७९ मंसिरको चुनावबाट गठन भएको प्रदेशसभामा पहिले एमालेका राजेन्द्र रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र उनीपछि एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बने ।

१७ असारमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि सोडारी मन्त्रिपरिषदबाट एमाले बाहिरिएको थियो । अल्पमतमा परेका सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका थिए ।