काठमाडौं । रवि लामिछाने नेतृत्वको रास्वपाले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई ५ दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न निर्देशन दिएको छ ।
सार्वजनिक यातायातको क्षेत्र सुधारका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको भन्दै रास्वपाले त्यसअघि सार्वजनिक यातायातमा यात्राको अनुभव लिन केन्द्रीय सदस्य र सांसदहरुलाई निजी सवारी साधनको सट्टा ५ दिन सार्वजनिक यातायातका साधनमा यात्रा गर्न आग्रह गरेको एक नेताले जानकारी दिएका छन ।
पार्टी सभापति रवि लामिछानेको प्रस्ताव अनुसार केन्द्रीय सदस्य र सांसदहरूले सार्वजनिक यातायातको वर्तमान अवस्था नजिकबाट बुझ्ने र अनुभव गर्ने प्रक्रिया स्वरूप पाँच दिन आफ्नो निजी सवारी साधनको साटो सार्वजनिक यातायातको प्रयोग गर्ने प्रस्ताव गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले भने, ‘नेपालमा सार्वजनिक यातायातमा धेरै सुधारको आवश्यकता छ र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसमा सुधार ल्याउनको लागि एउटा खाका कोरेर स्पष्ट योजनासहित संघिय सदनमा सार्वजनिक महत्वको प्रस्ताव तयार गरिरहेको छ, ‘तर प्रस्तावित कानुनको तयारी गर्ने क्रममा कानुन बनाउने प्रक्रियामा आबद्ध जनप्रतिनिधिहरूले त्यसको यथार्थ अनुभव गर्न आवश्यक हुन्छ ।’
आपत्कालीन अवस्था, स्वास्थ्यको कारण वा अन्य कुनै पनि किसिमको अप्ठ्यारोमा परेकाहरुका लागि भने सार्वजनिक यातायातका साधन प्रयोग बाध्यकारी नभएको झाले जानकारी दिएका छन ।
नागरिकको दैनिकी सहज भएमात्रै देशको अर्थतन्त्र पनि सुधार हुने भन्दै रास्वपाले नागरिकको दैनिकी सहज हुने एउटा प्रत्यक्ष कारण सार्वजनिक यातायातको सहजतापूर्ण र सुरक्षित सुविधा भएको ठहर गरेको छ ।
सबै समस्या एकैपटक समाधान नहुने भएकाले त्यसलाई सानोसानो टुक्रामा बाँडेर अध्ययन गर्न आवश्यक रहेको भन्दै रास्वपाले त्यसको सुरुवात सार्वजनिक यातायातको क्षेत्रबाट गर्न थालेको पनि उनले जानकारी दिएका छन ।
प्रतिक्रिया