काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको बताएका छन् ।
मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले सरकार कसैप्रति प्रतिसोध साध्न नबनेको बताउदै अर्थतन्त्र सुधार गरेर देशको विकास गर्न यो सरकार बनेको बताएका हुन् ।
उनले भने, ‘तपाईहरुलाई भन्न चाहान्छु सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन । कसैलाई दुख दिँदैनौं । दुख दिने नियती पनि हाम्रो छैन् ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कसैको अनुहार हरेर क्षमा दिने र कारबाही गर्नेतर्फ नजाने दाबी गर्दै भने, ‘देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सक्छौँ । भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ सुशासन कायम गर्न सक्छौँ । यसरी भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ । त्यसै गरेर भ्रष्टाचार निवारण ऐन २०५९ मा रहेको भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजन लगायतका विषयमा संशोधन अघि मैले भनेको प्रयोजनका लागि आवश्यक देखियो ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दोषीमाथि सरकार कडा रूपमा प्रस्तुत हुने पनि बताए ।
प्रधानमन्त्री ओलीले आफूलाई धन आर्जन गर्न कुनै लालच नभएको बताएका छन् । आफूले जिन्दगीमा कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्दै ओलीले भ्रष्टाचार नसहेको पनि बताए ।
‘मैले जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ । भ्रष्टाचार सहिनँ पनि । मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो’, ओलीले भने, ‘राजनीतिक हिसाबले कसैले लाञ्छित गर्नका लागि हिलो छ्याप्नु बेग्लै कुरा हो ।’
उनले अगाडि भने, ‘म दावाका साथ भन्छु यो धर्तीको अदालतमा मात्रै होइन कि चित्रगुप्ताको अगाडि पनि जवाफ दिन तयार छु । मलाई धन आर्जन गर्नु छैन । राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर त्यसलाई आफ्नो बनाउनु छैन । त्यो मेरो नैतिकताले पनि दिँदैन । त्यो मलाई आवश्यक पनि छैन ।’
प्रधानमन्त्री ओली उपस्थित भएको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने अनुपस्थित भएका छन् । उनी विराटनगरमा भएकाले उक्त बैठकमा अनुपस्थित भएका हुन् ।
प्रतिक्रिया