भक्तपुरमा झण्डै एक दर्जन कार्यालयको नेतृत्व महिलाको हातमा

भक्तपुरमा झण्डै एक दर्जन कार्यालयको नेतृत्व महिलाको हातमा


ग्लोब नेपाल
81
Shares

भक्तपुर । भक्तपुरका ११ वटा सरकारी कार्यालयको नेतृत्व महिलाको हातमा पुगेको छ । निजामतिलगायत सरकारी पदहरुमा अझै पनि महिला सहभागिता न्यून रहेका बेला देशकै राजधानीसँग जोडिएको उपत्यकाकै एउटा जिल्लामा चाँही झण्डै एक दर्जन कार्यालयहरुको नेतृत्व महिलाले गरेका छन् ।

क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा सानो जिल्लाका रुपमा रहेको भक्तपुर जिल्ला, महिला प्रमुख भएका जिल्लाका रुपमा चाँही देशकै सबैभन्दा ठूलो जिल्ला बनेको छ । यस जिल्लाका ११ वटा सरकारी कार्यालयमा अहिले महिला कर्मचारी कार्यालय प्रमुख रहेका छन ।

यससँगै भक्तपुर जिल्ला देशैभर सबैभन्दा धेरैवटा सरकारी कार्यालयमा महिला नेतृत्व रहेको जिल्लामा परेको छ । भक्तपुरमा प्रमुख जिल्ला अधिकारी अर्थात सिडियोको जिम्मेवारी अहिले महिलाकै रहेको छ ।

यस जिल्लामा देशकै पहिलो महिला सिडियो उषा नेपालले विक्रम संवत २०४७ फागुनदेखि २०४८ मंसिरसम्म सिडियोको जिम्मेवारी निर्वाह गरेकी थिइन ।

त्यस यता यहाँ अम्बिका केसी, हुमकला पाण्डे, रुद्रादेवी शर्मा र रोशनीकुमारी श्रेष्ठले सिडियोको जिम्मेवारी निर्वाह गरेकी छन् । महिलाहरु दक्ष भए पनि काम गरेर देखाएपछि मात्रै समाजले पत्याउने प्रबृत्ति देखिएको हालका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अनुभव छ ।

यतिबेला देशको निजामती सेवाकै सर्वोच्च पद मुख्य सचिवमा लिलादेबी गड्तौला रहेकी छन् । मुख्य सचिवमा महिला भएका कारण भक्तपुरका झण्डै एक दर्जन कार्यालयमा महिला कार्यालय प्रमुख बनेको नभई यो एउटा संयोग मात्र रहेको कर्मचारी बताउँछन् ।

भक्तपुर अस्पतालका प्रमुख डा सुमित्रा गौतम आफ्नो ब्याचको टपर समेत रहेकी थिइन् ।

भक्तपुरमा अहिले शिक्षा विकास तथा समन्वय एकाइ, प्रहरी वृत्त जगाती, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, हुलाक कार्यालय, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, गुठी संस्थान कार्यालय, व्यावसायिक किट विकास फार्म, स्वास्थ्य कार्यालय, र राष्ट्रिय कला संग्रहालयमा महिलाको नेतृत्व रहेको छ ।