सुर्खेत । कर्णालीमा गएको आर्थिक वर्ष साढे पाँच लाख टन खाद्यान्न उत्पादन भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार पाँच लाख ५२ हजार नौ सय ३० टन खाद्यान्न उत्पादन भएको हो । जसअन्तर्गत कर्णालीमा सबैभन्दा धेरै दुई लाख १९ हजार आठ सय दुई टन मकै उत्पादन भएको छ ।
दोस्रोमा गहुँ एक लाख ५२ हजार छ सय २१ टन र तेस्रोमा धान एक लाख ४५ हजार ६३ टन उत्पादन भएको छ । यस्तै जौँ ११ हजार पाँच सय ५६ टन, कोदो १६ हजार तीन सय १० टन, फापर तीन हजार ८८ टन र उवा एक हजार आठ सय १९ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच प्रदेशमा वर्षमा २३ हजार टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसङ्ख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ ।
एक जनालाई वार्षिक औषतमा दुई सय एक किलोका दरले खाद्यन्न आवश्यक पर्ने भएकोले प्रदेशको उत्पादनमा थप २३ हजार टन खाद्यन्न आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । मकै, गहुँ, कोदो लगायतका खाद्यन्नभन्दा चामालकै माग बढी हुने भएकोले कर्णालीमा खाद्यन्न आयात भने उच्च छ ।
प्रतिक्रिया