रोहित आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि

रोहित आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि



काठमाडौं । क्यानडामा भएको ग्लोबल टी–२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जितेको छ । गएराति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

मोन्ट्रियलले दिएको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो । अस्ति शनिवार भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको थियो ।

पहिलो क्वालिफायर वर्षाका कारण रद्द भए पनि लिगको शीर्ष स्थानमा रहदै प्लेअफमा स्थान बनाएको कारण मोन्ट्रियल टाइगर्स फाइनलमा पुगेको थियो । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध भएको टोली भने लिगको अन्तिममा रहँदै बाहिरएको थियो ।