काठमाडौँ । अफगानिस्तान र श्रीलंकासँगको टेस्ट शृंखलाका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । न्युजिल्यान्डले टिम साउदीसँगको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
न्युजिल्यान्डको टोलीमा प्रमुख ब्याटरहरू डेभन कन्वे, ग्लेन फिलिप्स, रचिन रविन्द्र र केन विलियमसन छन् । यस्तै कप्तान साउदीसहित म्याट हेनरी, बेन सियर्स र विल ओरोर्के तीव्र गतिका बलरका रूपमा टोलीमा अटाएका छन् । यस्तै न्युजिल्यान्डको टोलीमा पाँच जना स्पिनरलाई मौका दिइएको छ । टोलीमा मिचेल स्यान्टर, अजाज पटेल, माइकल ब्रेसवेल स्पिनर तथा फिलिप्स र रविन्द्र पार्ट–टाइम बलरका रूपमा छन् ।
एशिया उपमहाद्वीपका खेलहरूमा स्पिनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकाले न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टेडले साउदी र अन्य तीव्र गतिका बलरलाई कम प्रयोग गर्ने बताएका छन् ।
न्युजिल्यान्ड र अफगानिस्तानबीचको एक मात्र टेस्ट क्रिकेट आउँदो सेप्टेम्बर ९ देखि भारतको नोयडामा शुरू हुनेछ । यस्तै श्रीलंकासँगको दुई खेलको टेस्ट शृंखला सेप्टेम्बर १८ तारिखदेखि गलेमा शुरू हुनेछ ।
प्रतिक्रिया