काठमाडौं । हिजो ७० अंकभन्दा धेरैले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १८ अंकले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा झरेको छ । आज दिनभर उतारचढाव भएको शेयर बजार खुलेको दुई मिनेटमै दुई हजार नौ सय ७१ विन्दुमा पुगेको थियो ।
आज बैंकिङ, फाइनान्स, लगानी, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा, उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लाग्यो ।
आज नेपाल फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्स कम्पनीका शेयरमा भने १० प्रतिशतले बढेको छ ।
आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड २७ लाख कित्ता शेयर २१ अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएको छ । हिजो २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार भएको थियो ।
प्रतिक्रिया