दमौली अस्पताललाई ४ वटा प्रयोगशाला यन्त्र प्रदान

दमौली अस्पताललाई ४ वटा प्रयोगशाला यन्त्र प्रदान



तनहुँ । स्वास्थ्य सेवा विभागले तनहुँको सदरमुकाममा रहेको दमौली अस्पताललाई एक करोड रुपैयाँ बराबरका चार वटा प्रयोगशाला यन्त्र प्रदान गरेको छ ।

विभागले हेमाटोलोजी एनालाइजर, अटोमेटेड युरिन एनालाइजर, फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो । पूर्वमन्त्री शङ्कर भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई ती उपकरण हस्तान्तरण गरेका हुन् ।

नयाँ उपकरण जडान भएसँगै अब दुई घण्टामा बिरामीले ‘ल्याब रिपोट’ पाउने छन् । यसअघि त्यस्ता विवरण प्राप्त गर्न पाँच घण्टाभन्दा धेरै समय लाग्दै आएको थियो ।

उपकरण हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका भण्डारीले अस्पतालको स्तरोन्नतिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।