आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छ : सभापति लामिछाने

आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छ : सभापति लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले संक्रमणकालीन न्याय निरुपणको गाँठा फुकाउनेगरी कानुन बनेपनि कानुन आफैँले न्याय नदिने उल्लेख गरे ।

उनले न्याय दिनका लागि संरचना चाहिने भन्दै संरचनामा रहने व्यक्तिको नियत सफा रहनुपर्नेमा जोड दिए । उनले राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने बताए ।

उनले आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने बताए । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राखे । उनले राजनीतिक नियुक्ति भएर आउने महान्यायाधीवक्ताले आयोगमार्फत रायको लागि आउने घटनामा दलीय स्वार्थ राख्ने सम्भावना हुने भएकाले यसप्रति सचेत हुनुपर्ने बताए ।

सभापति लामिछानेले देशभित्र टुंगिएका मुद्दामा अन्तर्राष्ट्रिय प्रश्न नउठ्ने परिस्थिति बनाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय समुदायको चिन्ता र चासोबारे पनि ख्याल गर्नुपर्ने बताए । उनले संक्रमणकालीन न्याय निरुपणमा रास्वपाको सकारात्मक सहयोग हुने भन्दै संसदको चौथो शक्तिको रुपमा रास्वपाको उपस्थितिप्रति नजरअन्दाज नगर्न पनि दलहरुलाई आग्रह गरे ।