काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित भएको हो ।
बुधबारको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेका थिए । त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए ।
सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन् ।
लामो समयदेखि विवादित यो विधेयकमा हालै दलहरूबीच सहमति जुटेर संसदको कानुन न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मत पारित भएको थियो ।
अबको दश दिनभित्र यो विधेयकलाई कानूनमा रुपान्तरित गर्ने सरकारको लक्ष्य रहेकाे प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्नेछ ।
प्रतिक्रिया