माओवादी विद्रोहलाई कुनै हालतमा जनयुद्ध भन्न सकिँदैन : चित्रबहादुर केसी

माओवादी विद्रोहलाई कुनै हालतमा जनयुद्ध भन्न सकिँदैन : चित्रबहादुर केसी



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न नसकिने अडान दोहोर्‍याएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो युद्धलाई हिंसात्मक द्धन्द्ध भनेर लेखेको तर जनयुद्ध नभनेको भन्दै प्रधानमन्त्री ओलीमाथि असन्तुष्टि व्यक्त गरेका थिए । सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष केसीले सो सशस्त्र युद्ध उग्रवामपन्थी भडकाव भएकाले त्यसलाई जनयुद्ध भन्न नसकिने जिकिर गरे ।

उनले तत्कालीन प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’प्रति सङ्केत गर्दै त्यो जनयुद्ध भएको भए सत्ताका लागि मरिहत्ते गर्थ्यो भनी प्रश्न समेत गरे ।

उनले सशस्त्र द्वन्द्वको क्रममा राज्यपक्ष र तत्कालीन विद्रोह माओवादी पक्षबाट युद्ध अपराधमा सामेल सबैलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारसँग माग गरे ।

अध्यक्ष केसीले भने, ‘टिआरसी विधेयकमा जुन सहमति भएको छ । त्यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । माओवादीको नेतृत्वमा भएको सशस्त्र कारबाहीलाई हामीले कहिल्यै पनि जनयुद्ध मानेका थिएनौँ । र त्यसलाई उग्रबामपन्थी भडकाव नै भएको घोषित गरेका थियौँ । किनभने त्यो सशस्त्र कारबाही माक्सवादी, लेनिनवादी सिद्धान्त र परिस्थितिको ठोस विश्लेषणमाथि आधारित थिएन ।’