समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक : उपप्रधानमन्त्री सिंह

समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक : उपप्रधानमन्त्री सिंह



काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी विस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीलाई आग्रह गरे । नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्ने उनको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गरे । उनले अधिकारका लागि लडेर ल्याएका अधिकारको संरक्षणमा जुट्न पनि आह्वान गरे । उनले विरोधका नाममा विरोध गर्दा प्राप्त अधिकार पनि गुम्न सक्ने खतरा हुने बताए ।

उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबै एक भएर साथ दिन आग्रह गरे । उनले नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले जनताका माग पूरा गर्नकै लागि अहिलेको सरकार बनेको दाबी गरे ।