काठमाडौं । नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै अमेरिकाले बधाई दिएको छ । केही दिनअघि संसदबाट टीआरसी विधेयक पारित भएको थियो । यसले संक्रमणकालीन न्याय टुंगोमा पुग्ने अवस्था बनेको भन्दै अमेरिकाले बधाई दिएको हो ।
नेपाल भ्रमण क्रममा आज काठमाडौं आइपुगेका अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भएको भेटमा बधाई ज्ञापन गरे ।
प्रधानमन्त्री ओलीले राजनीतिक सहमतिका आधारमा नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कानूनका विषय टुंगो लाग्ने क्रममा रहेको उल्लेख गरे । भेटमा उनीहरूबीच दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गरे । साथै उनले नेपाल सन् २०२६ भित्र अल्पविकसित देशबाट स्तनोन्नति हुने क्रममा रहेको र नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।
प्रतिक्रिया