काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा आएको बाढी के कारणले आयो अझै यकिन हुन सकेको छैन । हिमताल विष्फोट हो वा हिमपहिरो हो, या सुख्खा पहिरो हो अथवा स–साना जमेको हिउँ पग्लेर हो ? त्यसको यथार्थ विवरण प्राप्त हुन सकेको छैन । तर एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।
बाढीबारे प्रारिम्भक जानकारी दिँदै महाशाखाले उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल-हिमपोखरी रहेको उल्लेख गर्दै तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने बताएको छ ।
उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९ दशमलव ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५ दशमलव ९ डिग्री तापक्रप पुगेको महाशाखाले जनाएको छ । निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ ।
विभागको खोटाङस्थित दूधकोशी रवुवाबजार बाढी मापन केन्द्रमा जलसतह हिजो साँझ ५:१० बजे चार दशमलव २९ मिटरबाट ३० मिनेटमा एक्कासी करिब एक दशमलव २० मिटर बढेर साँझ ५:४० बजे पाँच दशमलव ५३ मिटर पुगेकामा सो पछि विस्तारै घट्न थालेको महाशाखाको भनाइ छ ।
प्रतिक्रिया