काठमाडौं । भारतले नेपालसँग थप २५१ मेगावाट बिजुली किन्ने भएको छ । नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै जनाएको हाे ।
भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने भएको छ । मध्यकालीन सम्झौतापछि दैनिक ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) भारतले बिजुली लैजान्छ ।
२५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रूपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता तथा खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।
सन् २०२१ अक्टोबरमा नेपालले पहिलो पटक भारतमा ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति पाएको थियो ।
इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरू गरेको हो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।
भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत खरिद दायित्व (एचपिओ) को एक हिस्साको रूपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ । जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत बिक्री गर्ने परिकल्पना गरेको छ ।
प्रतिक्रिया