इन्द्रावतीमा निरन्तर सुक्खा पहिरो : प्राथमिक अस्पतालसहितका संरचना जोखिममा

इन्द्रावतीमा निरन्तर सुक्खा पहिरो : प्राथमिक अस्पतालसहितका संरचना जोखिममा



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ तिपेनीमा निरन्तरको सुक्खा पहिरोले इन्द्रावती नदीमा जोखिम छ । अस्ति आइतवार रातिदेखि झर्न थालेको पहिरो हिजो दिउँसो र गएराति पनि नरोकिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा–६ का अध्यक्ष नारायण भट्टराईले जानकारी दिए ।

गएराति पहिरो खसेका कारण नदीको आधाजसो भाग एकैछिन थुनिएको थियो । नदी थुनिन सक्ने क्षेत्र वडा नम्बर एकमा पर्छ । सुक्खा पहिरो रहेको वडा नम्बर ७ को क्षेत्र हो । आकस्मिक रुपमा ठूलो पहिरो झरेमा इन्द्रावती नदी थुनिने त्रास छ ।

गाउँपालिकाका प्रवक्ता भट्टराईका अनुसार पहिरोले गर्दा पाँचपोखरी प्राथमिक अस्पतालसहित आसपासका केही संरचनामा जोखिम छन् । नदीको छेउमा माथिबाट खसेको पहिरोले ग्रेगान थुपारेको अवस्था छ तर आत्तिहाल्नुपर्ने गरी अहिलेलाई जोखिम नरहेको उनले बताए ।

खोला जुनसुकै बेला थुनिन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउनुपर्नेमा उनको जोड छ । नदी थुनिएमा तिपेनी बजार, इन्द्रावती जलविद्युत् आयोजना, मेलम्ची बजारसहित दोलालघाटसम्मको तटीय क्षेत्रमा असर पार्न सक्छ ।

यसअघि हिजो जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विज्ञप्ति निकालेर उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको थियो ।