शिक्षामन्त्री भट्टराईद्वारा गृहमन्त्री लेखकसँग फेसबुकमार्फत माग प्रस्तुत

शिक्षामन्त्री भट्टराईद्वारा गृहमन्त्री लेखकसँग फेसबुकमार्फत माग प्रस्तुत


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकलाई धम्क्याउनेमाथि कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गरेकी छन् । मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गुण्डागर्दी गर्ने छुट नभएको भन्दै कारबाही गर्न गृहमन्त्रीलाई फेसबुकमार्फत् आग्रह गरेकी हुन् ।

त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरिएका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको उनले फेसबुकमा लेखेकी छन् ।

‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरुमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ’, मन्त्री भट्टराईले लेख्छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु ।’

समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयलाई लिएर आक्रमणको धम्की आएपछि त्रिवि उपकुलपति केशरजंग बराल, शिक्षाध्यक्ष खड्क केसी र रजिष्ट्रार केदार रिजाल बिदामा छन् ।

मानविकी तथा समाजशास्त्र संकायकी डिन कुसुम शाक्यले विभाग प्रमुखमा टीकाराम गौतमको नाम सिफारिस गरेपछि विभिन्न विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् ।