काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस पल्टिएको छ ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १ः ५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिएका छन ।
बस दर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ । घाइते भएका ९ जनाको भरतपुर अस्पतालमा, ८ जनाको पुरानो मेडिकल कलेजमा र ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जानकारी दिएको छ । बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ । ढुंगा लागेर बसमा क्षति पुगेको छ । पल्टिएको बस अहिले पनि घटनास्थलमै रहेको छ ।
सडक भने सुचारू गराइएको छ । यसअघि गत असार २८ गते सोही सडकखण्डमा बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो । सोही दिन सिमलतालमा पहिरोले २ बस बगाउँदा ६२ यात्रुको मृत्यु भएको थियो ।
प्रतिक्रिया