काठमाडौं । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा ओखलढुंगा जिल्लामा सिद्धिचरण नगरपालिका पहिलो भएको छ। सिद्धिचरण नगरपालिकाले ८०.७५ अंक प्राप्त गर्दै जिल्लामा पहिलो बनेको हो । ओखलढुंगा जिल्लामा एक मात्र नगरपालिकाको रुपमा सिद्धिचरण नगरपालिका रहेको छ ।
ओखलढुंगाका अन्य पालिकाहरुमा मोलुङ गाउँपालिकाले ७८.५० अंक प्राप्त गरेर दोस्रो भएको छ । चम्पादेवी गाउँपालिका ७१.७५ अंक प्राप्त गरेर तेस्रो भएको छ भने ७१.५० अंक ल्याएर चिशंखुगढी गाउँपालिका चौथो भएको छ । त्यसैगरी खिजिदेम्बा गाउँपालिकाले ६९.५०, सुनकोशी गाउँपालिकाले ६८.७५, मानेभन्ज्याङ गाउँपालिकाले ६२.२५ अंक प्राप्त गरेका छन् । ६१.५० अंक प्राप्त गरेर लिखु गाउँपालिका अन्तिममा रहेको छ ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधिले लिजाको कार्यान्वयनमार्फत विकास तथा सुशासनका सन्दर्भमा रहेका कमीकमजोरी पहिल्याउन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र स्थानीय तहका बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने अभीष्ट राखेको छ । कार्यविधिमा स्थानीय तहमा स्वमूल्यांकनका लागि दसवटा विषय क्षेत्रमा विभिन्न सूचक निर्धारण गरिएका हुन्छ ।
स्थानीय तहहरुको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, समाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय लगायतका मुल्यांकनका सूचकहरु रहेका छन् ।
सुशासन, आर्थिक पारदर्शीता, सार्वजनिक सेवा तथा विकासलाई प्राथामिकतामा राखेर जनप्रतिनिधी र कर्मचारीहरुले काम गरेकै कारण सिद्धिचरण नगरपालिकाले राम्रो नतिजा ल्याएको नगरपालिका प्रमुख तेजन खनाल (तेजेन्द्र) ले बताए । उनले भने, ‘आगामी दिनमा ओखलढुंगा जिल्ला मात्र नभएर देशभरकै स्थानीय तहहरु मध्ये नै उत्कृष्ट बन्ने लक्ष्य लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
स्थानीय तहको कार्यप्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्र्यविधि,२०७७ तर्जुमा गरी कार्यान्वयन गरेको छ ।
प्रतिक्रिया