कञ्चनपुर । महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची-महाकाली यात्रामा निस्केकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छन् ।
भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले पाँचौँ दिन हिजो आइतबार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन् ।
परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन । “संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ । त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ”, उनले भनिन् ।
झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया