एमालेको घर झगडा टुँडिखेलमा छताछुल्ल

एमालेको घर झगडा टुँडिखेलमा छताछुल्ल


ग्लोब नेपाल
14.9k
Shares

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा हिजो सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वमा सहभागी थिए । जब प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुगे तब दर्शकदीर्घामा रहेका युवाहरुको एउटा ठूलो समूहले नाराबाजी गर्न थाल्यो । उत्तेजित भिडले पानीका बोत्तल र बेलुन प्रहार गर्न खोज्यो ।

नाराबाजी गर्ने समूह कसबाट परिचालित थिए भन्नेबारे विभिन्न अड्कालबाजीहरु काटिएका छन् । कसैले काठमाडौंका मेयर बालेन्द्र साहका समर्थक त कसैले बंगलादेशको हावा नेपालमा प्रवेश गरेको अनुमान लगाए । तर, बास्तविकता फरक भेटिएको प्रहरी स्रोतले बतायो । उच्च श्रोतका अनुसार कार्यक्रममा नाराबाजी गर्नेहरु एमाले कार्यकर्ता हुन् ।

एमाले सुदूरपश्चिमभित्र भुसको आगो झैं फैलिँदै गएको ओलीप्रतिको आक्रोश टुँडिखेलमा विस्फोट भएको छ । ओलीले कर्ण थापालाई पाखा लगाएर उद्योगमन्त्री समेत रहेका दामोदर भण्डारीलाई काखी च्यापेपछि ठूलो समूह ओलीको खिलाफमा छ । ‘दामोदर भण्डारी गुट हाबी भएपछि कर्ण थापा समूह बाहिर छ । पार्टीमा भण्डारीभन्दा थापा बलिया छन् ।

‘पार्टीभित्रको झगडा खुलामञ्चमा पोखिएको हो’, एमालेका एक नेताले भने । लामो समय ओलीनिकट रहेका थापा पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट छन् । श्रोतका अनुसार थापाका लागि ओली निवास बालकोट र प्रधानमन्त्रीनिवास बालुवाटारको गेट बन्द छ ।

थापा र एमालेबाट पेलानमा परेका पूर्वउपाध्यक्ष भीम रावल समर्थक पनि नाराबाजीमा संलग्न रहेको रिपोर्ट प्रहरीले प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र काँग्रेस सभापति देउवालाई गरिसकेको छ ।