काठमाडौं । शंखमुलस्थित ‘द टाइम पास स्नुकर’ का सञ्चालक रूपक बान्तवालाई लेनदेन र पूर्व रिसिबीको कारण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
हत्यामा संलग्न आरोपमा प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले बाराको सिम्रौनगढ नगरपालिका–७ घर भएर काठमाडौं–१० शंखमुल बस्ने एमके कुमारलाई पक्राउ गरेका छन् ।
आरोपीलाई घटनास्थल नजिकै डेराबाट पक्राउ गरिएको काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन । आरोपी घटनास्थल नजिकै डेरामा बस्थे । शंखमुलस्थित साईबाबा पार्कमा डेरामा बस्ने कुमारले मृतक बान्तवाकै कारण आफ्नो बुवा जेल परेको प्रहरीलाई अनुसन्धानको क्रममा बताएका छन ।
अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्– ‘मलाई उसले असाध्यै हेप्ने हुनाले आवेशमा हत्या गरेँ ।’ २२ वर्षीय एमके कुमारले मृतकसँग आफ्नो लेनदेन पनि भएको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । प्रहरीसँग उनले भनेका छन्, ‘मेरो ४१ लाख लिनुपर्नेछ ।’ भदौ १० मा बिहान १ बजेर ५० मिनेटमा घटनाबारे प्रहरीले सूचना पाएको थियो ।
प्रहरी पुग्दा एक जना युवक घटनास्थलबाट भाग्दै थिए । युवक भागेको देखेपछि एक जना महिलाले प्रहरीलाई फोन गरिन, ‘शंखमुलको स्नुकरमा झगडा परेको जस्तो छ, एक जना केटा भागिरहेको छ ।’ भाग्दै गरेका सनिज खड्गीलाई पनि प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । बागबजार बस्दै आएका खड्गी घाइते छन् ।
घाइते अवस्थामा फेला परेका खड्गीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
तीन जना बसेर सँगै मदिरा खाएको र त्यसपछि पुरानो कुरा निकालेर एमके कुमारले हत्या गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घाइते अवस्थामा भागेका खड्गीले घटनाबारे बोलेका छैनन् ।
प्रतिक्रिया