धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले गौरीफन्टा नाका स्तरोन्नतिका लागि भारतसँग कुरा भएको बताएकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को भवन उद्धघाटन गर्दै मन्त्री राणाले धनगढीकाे विकासका लागि महत्वपूर्ण रहेकाे नाका स्तराेन्नतिका लागि आफूले पहल गरेकाे बताइन् ।
‘भर्खरै भारत भ्रमणबाट फर्किएर आएकी हुँ,’ मन्त्री राणाले भनिन्, ‘गौरीफन्टा नाका धनगढीको भविष्यका लागि सबैभन्दा महत्वपूर्ण छ । यसकाे स्तरोन्नतिका लागि भारत भ्रमणका क्रममा कुराकानी भएको छ । भारतीय पक्ष पनि यसमा सकारात्मक देखिएको छ ।’
१ सय १८ वर्ष पुरानो गौरीफन्टा नाका सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र धनगढीसँग जोडिएको छ । तर, उक्त नाका अहिलेसम्म कामचलाउ अवस्थामा मात्रै सञ्चालन भइरहेको छ । सन् १९२० मा गौरीफन्टा–मैलानी रेलवे सेवासमेत सञ्चालन भएको थियो । तर, दुधुवा नेशनल पार्कमा रहेका वन्यजन्तुलाई असर पुगेको भन्दै संरक्षणको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संघसंस्थाले दबाब दिएपछि भारतले १९९४ मा रेलवे सेवा बन्द गरेको थियो ।
गौरीफन्टादेखि मैलानीसम्म ७४ वर्षसम्म रेल चलेको थियो । भारतले यो मार्गमा पुनः रेल चलाउने भन्दै ९ वर्षअघि प्रक्रिया अगाडि बढाएको थियो । तर अहिलेसम्म रेल सञ्चालन भइसकेको छैन ।
यस्तै परराष्ट्रमन्त्री राणाले धनगढीमा फाप्ला क्रिकेट मैदानको निर्माणका लागि पनि भारतसँग छलफल भएको जानकारी दिइन् ।
प्रतिक्रिया