काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालू आर्थिक वर्षमा राजस्व सङ्कलनकाे लक्ष्य पूरा गर्ने निर्णय गरेको छ ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व सङ्कलनमा भूमिका रहेका निकायका प्रमुखहरूको आजकाे बैठकले राजस्व सङ्कलनको लक्ष्यलाई पूरा गर्न राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको कार्यसम्पादन मूल्याङ्कनको महत्त्वपूर्ण आधार बनाउने निर्णय गरेको हो । बैठकले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको छ ।
राजस्व चुहावट नियन्त्रणसम्बन्धी व्यवस्थित कार्ययोजनालाई कार्यान्वयन गर्ने, कानूनसम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको असहज नहुनेतर्फ सजग रहने, गैरकानूनी आर्थिक गतिविधि गर्ने कसैलाई छुट नदिने निर्णय गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
बैठकमा अर्थमन्त्री पौडेलले एउटै व्यक्ति एउटै जिम्मेवारी र ठाउँमा लामो समय रहँदा हुनसक्ने अनपेक्षित सम्बन्धलाई हटाउन राजस्व प्रशासनसँग जोडिएका कर्मचारी र प्रहरीको ‘पोस्टिङ’ गर्न निर्देशन दिए ।
उनले सीमा नाकाहरूमा स्क्यानरसहितका आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानीलाई प्रभावकारी बनाउन, आयातित वस्तुको वर्गीकरण तथा मूल्याङ्कनलाई यथार्थपरक बनाउन, बजारमा बिलबिजक लिने/दिने कार्यलाई प्रोत्साहन गर्नुका साथै नक्कली बिजक वा फर्म खडा गरी हुनसक्ने राजस्व चुहावटप्रति गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिए ।
यस्तै गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्न गृह मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कर तिर्नका लागि प्रोत्साहन गर्न आग्रह गरे ।
प्रतिक्रिया