काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग गरेकाे छलफल निष्कर्षविहीन बनेको छ । देउवाले आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बुढानिलकण्ठमा छलफलमा बोलाएका थिए ।
केन्द्रीय समितिमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन सभापति देउवाले उनीहरुसँग छलफल गरेका हुन् । छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी थिए । पर्सि बिहान ९ बजे पुनः बस्ने गरी छलफल सकिएको उपसभापति धनराज गुरुङले जानकारी दिए ।
छलफल सहमति उन्मुख रहेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दाबी गरे । सबै एजेन्डामा सहमति सहित १६ गते केन्द्रीय समिति बैठक बस्ने उनले बताए ।
कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसि र महामन्त्री गगन थापाको चुनाव अघि गठबन्धन गर्न नहुने र कांग्रेसलाई रूखमा भोट हाल्ने निर्णय हुनुपर्ने प्रतिवेदनमा विवाद छ । सोही विवादका कारण साउन २३ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा निर्णय लेख्न सकिएको छैन ।
सहमति जुटाउन भन्दै पटक पटक बैठक स्थगन गरेर कांग्रेसमा सभापति देउवाले प्रतिवेदन परिमार्जन गराउन चाहेका छन् । संस्थापन पक्ष कुनै पनि हालतमा परिमार्जन गराउन चाहन्छ भने इतर समूहले प्रतिवेदन पारित हुनुपर्ने अडान कायमै राखेको छ ।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते बोलाएको छ ।
प्रतिक्रिया