प्रमाण भएर नै रबि लामिछानेले नौं घण्टा बयान दिनुपर्यो : गगन थापा 

प्रमाण भएर नै रबि लामिछानेले नौं घण्टा बयान दिनुपर्यो : गगन थापा 

उत्तेजनाको राजनीति नगर्न प्रचण्डलाई आग्रह



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले नौं घण्टासम्म बयान दिनुपरेको बताएका छन् ।

प्रतिनिधि सभाको विहिबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाईयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका छन् ।

उनले भने, ‘केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरु भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसदमा संघर्ष गरेर समिति बनाईयो ।’

थापाले समितिमा आफुहरुले प्रमाण दिएको उल्लेख गर्दै टिओआरमा कम्पनिको नाम लेख्न लगाएको बताएका छन् ।

उनले भने, ‘हामीसँग भएका तथ्य र प्रमाणहरु समितिमा पुगेनन होला ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ? अनि यसमा ख्याल गर्नुभएन ? ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होईन होला ?’

आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफु विश्वस्त रहेको बताए । 

उनले भने, ‘बरु, साथीहरु झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’

महामन्त्री थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका छन् ।

उनले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले नेपाल बंगलादेश वा श्रीलंकाजस्तो हुन सक्छ भनेर उत्तेजनाको राजनीति गर्न नहुने बताएका हुन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रचण्डले नेपालमा पनि बंगलादेश र श्रीलंकामा जस्तै विद्रोह हुन सक्ने अभिव्यक्ति दिएका थिए ।

महामन्त्री थापाले प्रतिपक्षी दलको नेता पनि यही प्रणालीको अंग हो भन्दै उसले आफ्नो जिम्मेवारी भुल्न नहुने बताए ।

‘प्रतिपक्षले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । एक छिनको लाभका लागि, आफ्नो दलमा अप्ठ्यारो परेको छ, दलका साथीहरुलाई जुरुक्क उचाल्छु भनेर क्षणिक लाभ पूरा गर्न र अन्तरविरोधमा खेल्नका लागि यति धेरै पनि बरालिनु पनि हुन्न कि’, थापाले भने ।

उत्तेजनाको राजनीति गर्न सजिलो हुने भन्दै थापाले तर एक पटक आगो सल्काएपछि त्यसले आफैंलाई पनि जलाउन सक्छ भन्ने हेक्का राख्न प्रचण्डलाई आग्रह गरे ।