टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख प्रोत्साहन भत्ता

टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख प्रोत्साहन भत्ता



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

यसअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् भने अरु सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

क्यानले प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने भएको छ । क्यान कार्यसमितिको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब पदने निर्णय गरेको हो । खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ ।

यो निर्णयअनुसार हुने सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ ।

हाल राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई सेन्ट्र‍ल कन्ट्याक्ट गरिएको छ । ए ग्रेडमा रहेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउने छन् ।