विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर अघि बढ्छौँ : अर्थमन्त्री पौडेल

विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर अघि बढ्छौँ : अर्थमन्त्री पौडेल



भैरहवा । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताएका छन् ।

बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै उहाँले विकास निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने बताए । ६ अर्ब १८ करोड लागतको यो आयोजना समयमै सक्न निर्देशन दिँदै उहाँले समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरे ।

उनले पाँच वर्षमा निर्माण सक्ने सम्झौता भए पनि तीन वर्षमा सक्ने गरी काम गर्ने निर्माण कम्पनीले बताएपछि पौडेलले बोलेर होइन, गरेर देखाउन आग्रह गरे । “छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्ने गरी अगाडि बढ्नुपर्छ”, उनले भने ।

यो आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट पनि निगरानी गर्नुपर्ने पौडेलले बताए । उनले अस्पतालको यो भवन लुम्बिनी प्रदेशमा अगाडि बढेका अन्य आयोजनाहरू मध्ये महत्त्वपूर्ण हुने पनि बताए । “भवन मात्र निर्माण गरेर हुँदैन, त्यसको प्रभावकारी व्यवस्थापन पनि जरुरी हुन्छ, यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ” उनले भने, “सङ्घीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।”

१२ सय शय्याको अस्पतालमा ठुलो सङ्ख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताए । अस्पताल भवन बन्दैमा अत्याधुनिक उपकरण छैन भने प्रभावकारी उपचार नहुने भन्दै पौडेलले सबै हिसाबले सुविधा सम्पन्न अस्पताल जरुरी रहेको बताए ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका अर्थमन्त्री पौडेलले रुपन्देहीलाई आफूले विकासमा नमुना बनाउन चाहेको बताए । “रुपन्देहीलाई विकासमा नमुना बनाउन सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरौँ,” उनले भने ।